भंगहा नगरपालिका वार्ड नं. ७ स्थित नारायण माध्यमिक विद्यालय, गोरहन्नामा ८ कोठे पक्की भवन निर्माण कार्यको शिलान्यास भंगहा नगरपालिकाको बजेटबाट सम्पन्न भएको छ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरत सिंह भण्डारीले औपचारिक रूपमा भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीले शिक्षा क्षेत्रमा स्थानीय सरकारको लगानी र प्राथमिकताको प्रशंसा गर्दै भवन निर्माणले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
शिलान्यास कार्यक्रममा भंगहा नगरपालिकाका प्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय जनताको उल्लेखनीय उपस्थिति थियो। वडाध्यक्षले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि नगरपालिकाले थप योजनाहरू अघि बढाउने जानकारी गराउनुभयो।
भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ भंगहा नगरपालिकाको बजेटबाट छुट्याइएको छ। भवनले विद्यालयमा अध्ययनका लागि उपयुक्त वातावरण सिर्जना गर्दै विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापकले भवन निर्माणले विद्यालयको भौतिक संरचना मात्र नभई समुदायको शिक्षा प्रतिको लगावलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय जनताले यस्तो महत्त्वपूर्ण विकास परियोजनाका लागि भंगहा नगरपालिकालाई धन्यवाद दिँदै भवन निर्माण समयमै सम्पन्न गर्न माग गरेका छन्।
शिक्षा क्षेत्रमा यो पहलले भंगहा नगरपालिकाको समग्र शैक्षिक सुधारको प्रयासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।