एलबी यादब, सिरहा दर्पण। सिरहाको केहि नगरपालिका र गाउँपालिकाहरूले निर्धारित समय सीमाभन्दा पहिले तर अधिकांश गापा र नपाले हिजो २०८२ असार १० गते आआफ्ना बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। लाहान नगरपालिका र नवराजपुर गाउँपालिका लगायत केहि स्थानीय तह निर्धारित अन्तिम सीमाको दिन असार १० गते भन्दा पहिले नै ती कार्यक्रम प्रस्तुत गरेका छन् भने गोलबजार नगरपालिका,लक्ष्मीपुर पतारी, औरही, बरियारपट्टि, भगवानपुर र सखुवाननकारकट्टी गाउँपालिका लगायतले हिजो आफ्ना गाउँसभा सम्पन्न गरेका छन्। सम्बन्धित गाउँपालिका वा नगरपालिका भरिका सम्पूर्ण गाउँ /नगर सभा सदस्य सम्बन्धित कार्यपालिकामा कार्यरत कर्मचारी र केही आमन्त्रित व्यक्तित्व साथै सञ्चारकर्मी लगायतको सीमित सहभागितामा गरिनुपर्ने गाउँ /नगरसभा कतै आमसभा तथा दलिय अधिवेशन जस्तै ठूलो संख्यामा सहभागीहरु देखाएर अव्यवस्थित तरिकाले गरिएको देखियो । तर सिरहाको सखुवानकारकट्टी गाउँ कार्यपालिकाले बोलाएको गाउँसभामा आवश्यक सहभागीहरू मात्र बोलाई कम खर्च र कम तडकभडकमा कम समयमै लोकतान्त्रिक मुल् मान्यताको अन्तिम महत्वका साथ व्यवस्थित तरिकाले सम्पन्न गरिएको छ। कुनै एक दलको बहुमत नभएकोले केही वडाध्यक्ष र वडा सदस्यहरुले विकास बजेट गाउँपालिका अध्यक्ष केदारनाथ यादब र प्रमुख प्रशासकीय अधिकृत राजीब कुमार झाले आफ्नो लाभ हुने हिसाबले छुट्याइएको र वडाध्यक्ष तथा सदस्यहरूलाई बेवास्ता गरेको जस्ता आरोप लगाएर गाउँसभा हुन नदिने अवस्था सिर्जना भएको कारण गाउँसभा औपचारिक रूपमा सञ्चालन हुन ढिलाई भई साँझ ६ बजे सुरु भयो। देशमै कान्छो मेयरले चिनिने केदारनाथ यादवको भुमिका एउटा जेष्ठ र पाको मेयरभन्दा कम थिएन।
वहाँले कार्यपालिकाका सम्पूर्ण पदाधिकारीहरूको सहयोगमा ६ बजे साँझ सुरु गरेको गाउँसभा आठ बजे नै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित संवैधानिक व्यवस्था अनुसार सम्पन्न गरे। शिक्षा संयोजक.भोगेन्द्र यादवले कार्यक्रम सञ्चालनको अवल नीति प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाको स्वागत मन्तव्य पछि सिधै गाउँ पालिका अध्यक्ष यादवलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय मिलाएका थिए। धेरै गफगाफ नफलाकी अध्यक्ष यादवले सबैले बुझ्ने गरी प्रष्ट उच्चारणका साथ गाउँ कार्यपालिकाको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १९ मिनेटमै गाउँसभा समक्ष प्रस्तुत गरे।
त्यसपछि उपाध्यक्ष निलमकुमारी यादवले अत्यन्तै गम्भीर भई मनतव्यलाई अन्यत्र नमोडी स्पष्ट उच्चारणका साथ सिलसिलेबार तवरले जम्मा ८ मिनेटमै गाउँ कार्यपालिकाको बजेट प्रस्तुत गरिन्।वहाँले सखुवानन्कारकट्टी गा.पा.को १६औं गाउँसभामा कुल बजेट ३९,०४,३२,१३२ जसमा चालु तर्फ २६,०२,८२,१३२ र पुजिगत १३,०१,५०,०००।- रहेको प्रस्तुत गर्नुभयो। कुनै पनि सभामा ती सभाका प्रत्यक्ष सरोकार राख्ने सभा सदस्यले आफ्ना राय र विमति राख्न पाउने लोकतान्त्रिक नीति अनुसार सभामा सहभागी प्रत्येक वडाध्यक्ष मात्र होइन वडा सदस्य समेतलाई आफ्ना मनासय खुला रुपमा सिधै गाउँसभामा राख्न पाउने समय दिइयो। जुन कार्य गाउँसभाको लागि महत्त्व राख्दछ।तर यस्ता अवसर त्यही मितिमा भएका औरही र भगवानपुर गाउँ सभामा दिइएको देखिएन।
सभामा उपस्थित पाँचै वडाका वडा अध्यक्षहरु क्रमश संजय यादव नेका,वडा नम्बर १,तनुकलाल यादब नेका वडा नं २,भोगेन्द्र यादब नेकपा एस वडा नं३,रमेश कुमार यादव जसपा,वडा नम्बर ४ र विश्वेश्वर यादव नेकपा एस वडा नम्बर ५ मध्ये संजय यादव र रमेशकुमार यादवले सहमति र विमति मन्तव्य राखेका थिए। त्यस्तै वडा नं २ नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य गौरीनारायण चौधरी, वडा नं ३ का वडा सदस्य अजय कुमार दास र वडा नं १ नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सीताराम यादवले व्यापक असन्तुष्टि र विमतिका कुरा राखेका थिए। वडा सदस्य चौधरीले सामुदायिक विद्यालय मावि सोठिआइनको अवस्था संकटमा रहेको, खानेपानी पाइप असक्षम भन्दा सक्षमलाई दिएको,घोषणा अनुसार कृषि मिटरको बिल नतिरिएको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाएका थिए।
सदस्य अजय कुमार दासले बजेट समावेशी नभएको, सदस्य यादवले बजेटको व्यापक दुरुपयोग भएको, हाकिम साब धेरै गल्ती गरेको जस्ता गोलमटोल अभियोग लगाएका थिए ।त्यस्तै वडाध्यक्ष सञ्जय यादवले गाउँपालिका अध्यक्ष यादवले सन्तोषजनक काम नगरेको,शिक्षाको अवस्था १७ वटै पालिकामध्ये सबभन्दा बढि खस्कि सकेको, विद्यालयको भौतिक पूर्वाधारतर्फ एक रुपैयाँ नछुट्याएको,अंग्रेजी माध्यममा एउटा पनि विद्यालयमा शिक्षण हुन नसकेको, सुशासन र पारदर्शिताको अभाव रहनुको साथै आफ्नो बोल्ने पालोमा अध्यक्ष आसन छोडेर सभाहलभन्दा बाहिर गएको प्रति दुःख व्यक्त गरेका थिए।
वडा अध्यक्ष यादवले बाँकी धेरै काम उत्कृष्ट रहेको भनेर सराहना पनि गरेका थिए। यसो हेर्दा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष र सदस्यहरू बढी आक्रोशित देखिएको थियो। वडा नम्बर ४ का अध्यक्ष रमेश यादवले नीति तथा कार्यक्रम लिखितमै सीमित नभई कार्यान्वयन होस् , बलान नदिको तटबन्ध तर्फ पनि गापाको ध्यान जाओस् भने माग गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास तुलनात्मक रूपमा पहिलेभन्दा हाल राम्रो हुँदै गएको भनेर प्रशंसा गर्नुभयो। यसरी दुईवटा अध्यक्षको मन्तव्य विपरीत मनसायको देखिएकोले गाउँ कार्यपालिकामा दलीय व्रचस्व र प्रमुख प्रशासकीय अधिकृत र गापा अध्यक्ष यादवसंग वडाअध्यक्ष संजय यादबलाई तैं ठूलो मै ठुलोको जुहारी चले जस्तो अवस्था रहेको देखियो।
अध्यक्ष यादव समापन मन्तव्य दिने क्रममा वडा सदस्य लगायत अध्यक्षहरुले राखेका विमतिप्रति चित बुझ्दो जवाफ दिए। अध्यक्ष यादवले वडा सदस्यहरुलाई आफूसँग रहेको शक्ति हातीलाई थाहा नभएको जस्तै शक्ति रहेकोले त्यो शक्ति वडा भेलामा प्रयोग गरि विकास कार्य निर्धारण गर्न आग्रह गर्नुभयो। वहाँले विनियोजित बजेट तोकेकै शिर्षकमा खर्च हुनेछ भन्ने विश्वास दिलाउनु भयो। वहाँले एम्बुलेन्स खरिद प्रक्रिया मै रहेको र सम्बन्धित संस्थाले प्रक्रिया मिचेकोले हाल अदालती प्रक्रियामा रहेको पनि प्रस्ट्याउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल झाँझपटिका प्रहरी निरीक्षक युवराज सुनारी ईप्रका महेशबारीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक बाबुराम कार्की र प्रहरी अनुसन्धान अधिकृत सरोज यादव साथै सञ्चारकर्मी लगायतका उपस्थिति रहेको थियो।














