लाल बिहारी यादव लहान, असार ३० । लहान नगरपालिका–१ स्थित सिंगराही मटिअर्वा कम्प्लेक्स आसपासको तरकारी बजारमा पानीको अभाव टार्न लहान नगरप्रमुख महेश प्रसाद चौधरीको पहलमा दुईवटा नयाँ पानी धारा जडान गरिएको छ।
कम्प्लेक्स भवनको पूर्वपट्टि एकवटा र उत्तरपश्चिम पट्टि अर्को गरी दुईवटा धारा जडान गरिएको हो। उक्त क्षेत्रमा तरकारी व्यापारी, सेवाग्राहीहरू तथा नजिकै रहेको हनुमान मन्दिर परिसर सरसफाइ तथा पूजा–पाठका लागि पानी आवश्यक परेपछि स्थानीय समाजसेवीहरूले नगरप्रमुख समक्ष पानी समस्याबारे ध्यानाकर्षण गराएका थिए।
स्थानीय समाजसेवी विश्वम्भर दासले भने, “तरकारी बजार र हनुमान मन्दिर परिसरमा पानीको अभावले समस्या परेको थियो। त्यसैले हामीले मेयर साहेबलाई आग्रह गरेका थियौँ। उहाँले तुरुन्तै सुन्नुभयो र समस्या समाधान गर्न दुईवटा धारा जडान गरिदिनुभयो।”
धारा जडान कार्य समाजसेवी दासकै अगुवाइमा अर्का समाजसेवी सन्तोष थापाको सहयोगमा हिजो असार २९ गते सम्पन्न भएको हो।
स्थानीय हरिदत्त दासका अनुसार, उक्त धारा जडानसँगै बजार क्षेत्रका व्यापारी, सेवाग्राही, भक्तजन लगायत धेरै व्यक्ति लाभान्वित हुनेछन्। “पानी ट्यांकी सफाइ गरेर आवश्यक औषधि हालिने र पिउन योग्य बनाइने व्यवस्था समेत गरिएको छ,” अगुवा विश्वम्भर दासले खुसी हुँदै बताए।
पानी समर्सियल बोर्डिङबाट तानिएको छ भने कम्प्लेक्स भवनमाथि रहेको ट्यांकीमा संकलन गरी त्यहाँबाट उक्त धारामा प्रवाह गरिने व्यवस्था मिलाइएको छ।
स्थानीयले नगरप्रमुख महेश प्रसाद चौधरीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै जनपक्षीय कामहरूमा साथ दिन आग्रह गरेका छन्।




















