कार्तिक २३ लहान। लाहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले मेयरमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै जारी गर्नुभएको सुत्केरी तथा गर्भवती महिलालाई पोषण प्याकेज वितरण कार्यक्रमलाई निरन्तरता दिनुभएको छ। उहाँको श्रीमती स्वर्गीय संगीता कर्माचार्यको गत २०७७ साल जेष्ठ २२ गते कोरोना संक्रमणबाट झापा जिल्लाको बिर्तामोड स्थित बिएमसी अस्पतालमा मृत्यु भएपश्चात गरिब जनता र दिनदुःखीहरुलाई सेवा गर्ने स्वर्गीय कर्मचारीको भावनालाई जीवन्त राख्न र उहाँको उक्त सेवा भावनालाई पूरा गरी परलोकी आत्माको शान्ति होस् भन्ने हेतुले मेयर चौधरीले कर्माचार्यको मृत्यु दिन पारेर प्रत्येक महिनाको २२ गते लाहान नगरपालिकाको प्रत्येक वडाको सुत्केरी र गर्भवती महिलालाई पोषण खाद्यान सामग्री प्रदान गर्ने उद्घोष गर्नुभएको थियो।
त्यही बाचा अनुसार उहाँले प्रत्येक महिनाको २२ गतेमा उक्त खाद्यान प्याकेज अनवरत रुपमा वितरण गर्दै हिजो लनपाको वडा नम्बर २४ का १५० गर्भवती र १५ जना सुत्केरी गरी जम्मा १६५ जनालाई प्रति व्यक्ति चामल १० किलो साथै आवश्यक दाल, नुन, तेल, चना र मटर लगायतका खाद्यान प्याकेज सामग्री वितरण गर्नुभएको उक्त वडाको स्वास्थ्य चौकीमा कार्यरत सिअनमी छैठो तहका स्वास्थ्य कर्मचारी रिता यादवले भन्नुभएको छ। उक्त वडाका वडा अध्यक्ष रासलाल रायको अध्यक्षता,मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्य,स्वास्थ्य चौकीका प्रमुख, त्यहाँका कर्मचारीहरू, स्वास्थ्य स्वयंसेविकाहरु,गर्भवती र सुत्केरी महिलाहरु साथै उनीहरुसँगै आएका सहयोगी महिलाहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा उल्लेखित विवरणका पोषण प्याकेज सामग्री वितरण गरिएको हो।
उपस्थित गर्भवती सुत्केरी र सहयोगी महिलाहरूले, "मेयर साहेबले धेरै नै राम्रो कार्य गर्नुभएको छ। हामी धेरै नै खुसी छौं। फेरि पनि आउने चुनावमा हामीहरुले उहाँलाई नै मत दिएर जिताउने " कुरा बोल्दै थिए। उक्त वडाकै पक्की टोलकी सन्जुला सदायले भनिन्,"मलाई यी सामान कसैले देला भने थाहा पनि थिएन। हिजो स्वास्थ्य चौकी आएको बेला एक्कासी यस्तो जानकारी हुँदा धेरै नै खुसी लाग्यो। मेरो लागि यो धेरै ठूलो सहयोग हो"। पोषण प्याकेज वितरण कार्यक्रम उक्त वडाको कार्यालय नजिकै रहेको स्वास्थ्य कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
मेयर चौधरीले गरिब,दलित, असहाय,उत्पिडनमा पारेका व्यक्तिहरूलाई लत्ताकपडा, कम्बल,चामल,कर्कटपाता,निःशुल्क आँखा जाँच र निःशुल्क मोती विन्दुकौ शल्यक्रिया र आर्थिक सहयोग लगायतका जनताको आवश्यकतामा आधारित कार्य समेत गर्दै आउनुभएकोले आमजनताबाट वाहवाहि पाउनु भएको छ। व्यक्तिगत जीवनका लागि केही समय व्यतीत गरेको देखिए पनि चौधरीले ठुल्ठुल्ला व्यक्तिसँग उठबस गरि तडकभडक गर्नुभन्दा बढि गरिब,दलित तथा सहयोग अपेक्षित जनतालाई सकेजति सहयोग गरेर उनीहरूसँगै बढी समय खर्चिन रुचाउनु हुन्छ ।




















