लहान मंसिर २९ ।

जसपा सिरहाका  नेता रामु महतो क्षेत्रीय सचिवमा चयन भएक छन् । जनता र पार्टीको हकहित र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका कर्मठ नेता रामु महतो पार्टीको क्षेत्रीय सचिवमा सर्वसम्मत रूपमा चयन भएका छन्।


लहान नगरपालिका वडा न. २, सिरहाका स्थायी बासिन्दा महतो लामो समयदेखि पार्टी संगठन विस्तार र जन सम्पर्कमा सक्रिय रहँदै आएका अनुभवी तथा त्यागी नेताका रूपमा चिनिनुहुन्छ । महतो वि.सं. २०६२/६३ सालदेखि निरन्तर जसपा (तत्कालीन मधेश आन्दोलनसँग जोडिएका दलहरू हुँदै) को संगठनमा सक्रिय रहँदै आएका छन्। राजनीतिक यात्राको प्रारम्भदेखि नै उनले जनताको समस्या, पीडा र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएका छन्। पार्टीका कार्यक्रम, आन्दोलन र संगठन निर्माणमा उनको सक्रिय भूमिका रहँदै आएको छ।


जनतासँग नजिक रहेर काम गर्ने शैलीका कारण उनी स्थानीय स्तरमा लोकप्रिय र विश्वासिलो नेताका रूपमा स्थापित छन्। जनताको हकअधिकार सुनिश्चित गर्नका लागि भएको संघर्षका क्रममा महतो २०७२ सालमा हिरासतमा समेत बस्नुपरेको थियो। त्यतिबेला उनले भोग्नुपरेका कठिनाइ र पीडाले पनि उनको राजनीतिक अडान कमजोर पार्न सकेन। बरु, जनताप्रतिको सद्भाव, माया र स्नेहलाई अझ मजबुत बनाउँदै उनले पार्टी र आन्दोलनप्रतिको प्रतिबद्धता कायम राखे।


कठिन परिस्थितिमा पनि पार्टी र जनताप्रतिको निष्ठा नछोड्ने उनको स्वभावलाई पार्टी नेतृत्वले उच्च मूल्यांकन गरेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यसहित जसपा नेपालले महतोलाई क्षेत्रीय सचिवको जिम्मेवारी सुम्पेको हो। क्षेत्रीय स्तरमा संगठन व्यवस्थापन, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र निर्वाचन तयारीमा महतोको अनुभव उपयोगी हुने पार्टीको विश्वास छ। सर्वसम्मत चयनले पार्टीभित्र उनको योगदान र नेतृत्व क्षमताप्रति व्यापक भरोसा रहेको देखाउँछ।


क्षेत्रीय सचिवमा चयन भएसँगै महतोले पार्टी संगठनलाई थप मजबुत बनाउने, युवाहरूलाई राजनीतिमा सक्रिय गराउने र जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मधेशका सवाल, सामाजिक न्याय, समानता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। साथै, पार्टीलाई निर्वाचनमा सफल बनाउन आफू पूर्ण निष्ठाका साथ लाग्ने उनको प्रतिबद्धता छ।