लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ अन्तर्गत आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपालतर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा सत्य नारायण यादवलाई एकल नाममा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ।

भेलामा पार्टीका जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका नेताहरू, सक्रिय कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको थियो। भेलामा समसामयिक राजनीतिक अवस्था, संगठनको मजबुती र निर्वाचन तयारीबारे गम्भीर छलफल गरिएको थियो।

वक्ताहरूले सत्य नारायण यादवलाई पार्टीको नीति, सिद्धान्त र मधेसी जनताको मुद्दाप्रति स्पष्ट धारणा राख्ने, जनताको दुःख–सुखमा सधैं साथ दिने र क्षेत्र नं. १ मा लोकप्रिय नेताको रूपमा स्थापित व्यक्तित्व भएको बताएका छन्। उहाँको नेतृत्वमा जसपा नेपालले निर्वाचन क्षेत्रमा उल्लेखनीय जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।

भेलाले पार्टी संगठनलाई गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गर्ने, कार्यकर्ताबीच आपसी समन्वय बढाउने तथा निर्वाचन लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। साथै, पार्टीको एजेन्डालाई जनतासमक्ष पुर्‍याउँदै आगामी निर्वाचनमा जसपा नेपाललाई विजयी बनाउने संकल्प दोहोर्‍याइएको छ।

भेलाको निष्कर्षस्वरूप सहभागी कार्यकर्ताहरूले सिरहा क्षेत्र नं. १ बाट सत्य नारायण यादवलाई विजयी गराउन एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।