सिरहा, बैशाख ६ गते।
लाल बिहारी यादब, लहान-सिरहा।
सिरहाको लहान ८ स्थित मनकामना कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई हिजो आइतबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ। कलेजका संस्थापक अध्यक्ष भरत साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेज प्रशासन, शिक्षक, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले शैक्षिक गुणस्तर, अनुशासन र उज्ज्वल भविष्य निर्माणका विषयमा जोड दिएका थिए। उनीहरूले विद्यार्थीहरूलाई आगामी जीवनमा परिश्रम, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरे। कलेजका प्रिन्सिपल कमलेश यादवले विद्यालयस्तरको शिक्षालाई व्यवहारिक, जीवनोपयोगी तथा समयानुकूल बनाउने उद्देश्य सहित कलेज निरन्तर क्रियाशील रहेको बताए। उनले शैक्षिक उपलब्धिसँगै नैतिक शिक्षा र अनुशासनलाई सधैं प्राथमिकतामा राखिएको स्पष्ट पारे।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा सम्पन्न बिदाई कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई सहकार्य, नेतृत्व विकास र सामाजिक व्यवहार सिक्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत भएको थियो। कार्यक्रममा कलेजको पहिलो ब्याचका रूपमा अध्ययन पूरा गर्न लागेका विद्यार्थीहरूलाई विशेष सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूले गीत, संगीत तथा नृत्य प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
कार्यक्रममा उपस्थित कलेजका सञ्चालक, शिक्षक तथा अतिथिहरूले प्रत्येक विद्यार्थीलाई सम्मानपत्रका साथै रातो गम्छा ओढाएर बिदाई गरेका थिए। यस अवसरमा शिक्षकहरूले उच्च शिक्षामा विषय छनोट, प्रतिस्पर्धात्मक वातावरणसँग जुध्ने क्षमता र समय व्यवस्थापनबारे महत्वपूर्ण सुझाव दिएका थिए।
बिदाई समारोहमा विद्यार्थीहरूले आफ्नो अध्ययनकालका अनुभव सुनाउँदै कलेजप्रति आभार व्यक्त गरेका थिए। सहभागीहरूले कलेजको गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र परिणाममुखी शिक्षाप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। मन्तव्यको क्रममा शिक्षकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै जिम्मेवार नागरिक बन्ने प्रेरणा दिएका थिए। कलेजका अध्यापक जीवन यादवले कुशल पूर्वक संचालन गरेको उक्त कार्यक्रम लहानको माड़वाड़ी सेवा सदनमा सम्पन्न भएको थियो।














