लाल बिहारी यादब

लहान, जेष्ठ ३० शनिबार ।

सिरहाको लहानमा विश्व रक्तदान दिवसको अवसर पारेर आज एक वृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव जीवन बचाउने पवित्र अभियानलाई थप सशक्त बनाउने उद्देश्यले लहान सिटी जेसीज, लहान द्वारा आयोजित उक्त कार्यक्रम लहान–१ स्थित तरकारी बजारमा रहेको गुप्ता फार्मेसीको प्राङ्गणमा सम्पन्न भएको हो।

FB_IMG_1781361112864

लहान सिटी जेसीजको आयोजना तथा Nepal Red Cross Society लहान शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साह जनक सहभागिता रहेको थियो। कार्यक्रम उद्योग वाणिज्य संघ लहानका वर्तमान अध्यक्ष प्रदीप गुप्ताको  प्रमुख आतिथ्य तथा लहान सिटी जेसीजका अध्यक्ष वमचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

रक्तदान जीवनदान हो भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा २३ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। संकलित रगतले आपतकालीन अवस्था, दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगबाट पीडित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने बताए। अध्यक्ष चौधरीले लहान सिटी जेसीजले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामूलक दर्जनौं कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जेसिजका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रक्त अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले समाजमा रक्तदानप्रति थप जागरण ल्याउने विश्वास गरिएको छ।