लाल बिहारी यादब, १० जेठ २०८३ लहान, सिरहा।  लहान नगरपालिकाको १८औँ नगरसभा बिहीबार नगर प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३९ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। नगर प्रमुख चौधरीले बजेटको संक्षिप्त प्रस्तुतीकरण गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

नगरसभाका प्रमुख अतिथि पूर्व मधेस प्रदेश सभा सदस्य तथा मधेस प्रदेश सभाका प्रथम सभामुख लगनलाल चौधरी रहनुभएको थियो। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य ललिता दास विद्रोही, जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष दिनेश कुमार महतो, रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालका अध्यक्ष रामनारायण महतो, पूर्व नगरप्रमुख प्रकाश केसी, नेपाल उद्योग वाणिज्य महासंघ लहान शाखाका अध्यक्ष प्रदीप कुमार गुप्ता लगायत विभिन्न संघसंस्था, शैक्षिक क्षेत्र, व्यवसायिक क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सेवा, पत्रकारिता तथा व्यवसायिक क्षेत्रमा योगदान पुर्‍याएका दुई दर्जनभन्दा बढी व्यक्तित्वलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नगर कार्यपालिकाबाट अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट कृषक, अपाङ्गता अधिकारकर्मी, हिंसापीडित महिलाको क्षेत्रमा कार्यरत व्यक्ति, व्यवसायी, पत्रकार, अवकाशप्राप्त तथा सेवारत शिक्षकहरू लगायत रहेका थिए। इन्जिनियर शत्रुधन प्रसाद चौधरी, पत्रकार सुदीप राउत, कृषक दुखी महतो, वीरेन्द्र चौधरी, हरिनारायण यादव, अभिनन्दन यादव, सामाजिक अभियन्ता संजय अग्रवाल तथा रिता देवी साह लगायत सम्मानित भएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नम्बर २४ का अध्यक्ष रासलाल राय, उद्योग वाणिज्य महासंघ लहान शाखाका अध्यक्ष प्रदीप कुमार गुप्ता, पूर्व सभामुख लगनलाल चौधरी तथा प्रदेश सांसद ललिता दास विद्रोहीले नगरपालिकाले समृद्धि र विकासको दिशामा अघि बढेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

प्रमुख अतिथि लगनलाल चौधरीले नगर प्रमुख महेश प्रसाद चौधरीको नेतृत्वमा शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासका क्षेत्रमा भएका कार्यको प्रशंसा गर्दै नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। त्यस्तै प्रदेश सांसद ललिता दास विद्रोहीले प्रस्तुत  गरेकी नीति तथा कार्यक्रम उत्कृष्ट र दूरदर्शी रहेको उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनको स्पष्ट खाका र प्रभावकारी व्यवस्थापन पक्षलाई अझ सुदृढ बनाउनुपर्ने सुझाव दिनुभयो।

नगर उपप्रमुख रामचलित्र महतोले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन अधिवक्ता सन्तोष सुवेदीले गर्नुभएको थियो। नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

  कार्यक्रमको समापन मन्तव्य दिदै लहान नगरपालिकाका नगरप्रमुख चौधरीले आफू जनताको सेवामा समर्पित रहि घरवार विहिन दलित तथा सुकुम्बासीहरूलाई नया घरमा व्यवस्थापन, शिक्षा, स्वास्थ्य कृषि तथा लक्षित वर्गमैत्री बिकासात्मक कार्य निरन्तर गर्दै आइरहेको र आगामी बर्षमा हुने भनिएकाे चुनाव भन्दा पहिले नै राष्ट्रसेवक कर्मचारीहरुको सहयोगमा चालु बर्षको निर्धारित नीति तथा कार्यक्रम लागू र समापन गर्ने कुरामा जोड दिनुभयो।