रहमुल, सप्तरी, १७ असार।

सप्तरी खडक नपाद्वारा २०८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गर्दै नगरभित्रका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गरेको जनाएको छ।


 साथै, आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


नगर प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिव नारायण साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


 कार्यक्रममा नगर उपप्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीश यादव, जिल्ला खोप सुपरभाइजर हिरेन्द्र साह, नगर स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, हेड नेपालका प्रदीप यादव, सामाजिक विकास शाखा प्रमुख जाकिर हुसेन, महिला तथा बालबालिका शाखा प्रमुख सुशीला चौधरी, नगरका ११ वटै वडाका स्वास्थ्य प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी तथा नगर स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो। स्वास्थ्य शाखा प्रमुख चौधरीले पूर्ण खोप सुनिश्चिततासम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाभित्र सञ्चालित खोप केन्द्रहरूलाई अझ व्यवस्थित, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रमुख अतिथि शिव नारायण साहले खोप कार्यक्रम बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।