रहमुल, लहान २४ असार

सिरहा जिल्लाको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै लहान नगरपालिका जिल्लाकै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा भएको छ। नगरसभाहलमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले औपचारिक रूपमा लहानलाई साक्षर नगरपालिका घोषणा गरेका हुन्।


कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो, शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनाल, २४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गमलामा पानी हालेर वातावरण संरक्षण तथा हरित विकासको सन्देशसहित गरिएको थियो।


स्वागत मन्तव्य राख्दै उपप्रमुख राम चलितर महतोले असार मसान्तको व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै लहानलाई सिरहाको पहिलो साक्षर नगरपालिका बनाउन सबैको साझा प्रयास निर्णायक बनेको बताए। उनले यो उपलब्धि सम्पूर्ण नगरवासीको गौरव भएको उल्लेख गर्दै अब साक्षरतालाई व्यवहारमा उतार्नु सबैको दायित्व भएको धारणा राखे।


उपप्रमुख महतोले आफ्नो मन्तव्यमा संघीय व्यवस्थामाथि भइरहेका बहसबारे पनि धारणा व्यक्त गर्दै संघीयता खारेज गर्ने चर्चा उपयुक्त नभएको बताए। उनले संघीयता स्थापनाको आन्दोलनमा सिरहा र विशेषगरी लहानको ऐतिहासिक योगदान रहेको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरण आवश्यक रहेको बताए। उनले हालै एसईई परीक्षामा जफत गरिएका मोबाइल फोन जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएको घटनाप्रति प्रश्न उठाउँदै त्यससम्बन्धी निर्णय लिने जिम्मेवार पक्षको जवाफदेहिता सुनिश्चित हुनुपर्ने धारणा राखे।

कार्यक्रममा शिक्षा शाखा प्रमुख अमिरी यादवले साक्षरता अभियानको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले सञ्चालन गरेका वयस्क साक्षरता कार्यक्रम, विद्यालय शिक्षाको पहुँच विस्तार, समुदायस्तरीय सचेतना अभियान, विद्यालय सुधारका पहल तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमबारे जानकारी गराए। कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाले साक्षर अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासहित ‘साक्षर प्रतिबद्धता पत्र’मा हस्ताक्षरसमेत गरेका थिए।

प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले लहान नगरपालिकालाई बधाई दिँदै साक्षरता घोषणा केवल औपचारिकता वा प्रमाणपत्रमा सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले शिक्षा सुधारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दलित समुदाय, आर्थिक रूपमा विपन्न परिवार तथा उच्च शिक्षा अध्ययन गर्न चाहने छोरी–बुहारीलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको जानकारी दिए।

मन्त्री सिंहले प्रदेशभरका ८७ विद्यालयमा ‘मोडेल किचेन’ स्थापना गर्ने लक्ष्य रहेको र सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विभिन्न सुधार कार्यक्रम सञ्चालन गरिने बताए। उनले मधेश प्रदेशमा करिब ३ हजार २०० सामुदायिक विद्यालय रहेको उल्लेख गर्दै सीमित बजेटका बाबजुद शिक्षा क्षेत्रमा सुधारका प्रयास निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले शुभकामना मन्तव्य दिँदै सिरहा अझै पनि शैक्षिक सूचकांकमा देशको ७२औँ स्थानमा रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले साक्षर घोषणा कागजमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्रले शिक्षा अभियानलाई सफल बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनालले देशका ६८ जिल्ला साक्षर घोषणा भइसकेको जानकारी दिँदै अब सिरहाले पनि नयाँ चरणमा प्रवेश गरेको बताए। उनले लहानको सफलताले जिल्लाका अन्य स्थानीय तहलाई समेत साक्षर घोषणा अभियान अघि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले मधेश प्रदेश शिक्षा क्षेत्रमा अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै लहानको उपलब्धिलाई प्रदेशकै लागि प्रेरणादायी उदाहरणको रूपमा व्याख्या गरे। उनले विगतमा पटक–पटक प्रयास भए पनि सिरहाले साक्षर नगरपालिका घोषणा गर्न नसकेको अवस्थामा आजको उपलब्धि ऐतिहासिक भएको बताए। एसईई परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट गरिएको विषयमा बोल्दै आफू सम्बन्धित समितिको पदेन सदस्य भए पनि उक्त निर्णय भएको बैठकमा उपस्थित नरहेको स्पष्ट पार्दै कानुनी प्रक्रिया अनुसार आवश्यक जानकारी सार्वजनिक हुने बताए।

कार्यक्रमका अवसरमा साक्षर अभियानलाई सफल बनाउन योगदान पुर्‍याएका विभिन्न व्यक्तित्व, स्वयंसेवक तथा अभियानमा सक्रिय सहयोगीहरूलाई सम्मान गरिएको थियो।

लहान नगरपालिका साक्षर घोषणा भएसँगै सिरहामा शिक्षा सुधार, निरक्षरता न्यूनीकरण तथा जीवनोपयोगी शिक्षाको अभियानले नयाँ गति लिने अपेक्षा गरिएको छ। स्थानीय सरकार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै साक्षरतालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ। यो उपलब्धिले सिरहाका अन्य स्थानीय तहलाई पनि साक्षर घोषणातर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास गरिएको छ।