लाल बिहारी यादब, सिरहा दर्पण लहान-सिरहा।

 सोमबार २९ असार २०८३

 नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राज्यको संवेदनशीलता र उत्तरदायित्वमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पछिल्ला सरकारहरूको कार्यशैलीप्रति निराशा व्यक्त गरेका छन्। उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको युवा नेतृत्वप्रति आशा जागेको भए पनि स्वर्गीय गणेश नेपालको आत्मदाहको घटना तथा आज होल्डिङ सेन्टरमा एक नाबालकको हृदयविदारक रुवाइले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गरेका छन्।

उनले सत्ता र जिम्मेवारीमा रहेका व्यक्तिहरू जनताको वास्तविक पीडाभन्दा टाढा रहेको अनुभूति भएको बताएका छन्। "राजनीति केवल भाषण, प्रचार वा कथाजस्तो होइन, यसले मानिसको जीवन, सम्मान र भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ," भन्दै बनैताले यस्ता घटनाले राज्यको संवेदनशीलता र उत्तरदायित्वबारे गम्भीर प्रश्न खडा गरेको बताएका छन्।

साथै उनले स्वर्गीय गणेश नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उक्त अभिव्यक्तिले पछिल्ला घटनाक्रमप्रति राज्यको जिम्मेवारी, मानवीय संवेदना र सुशासनबारे सार्वजनिक बहसलाई थप बल दिएको देखिएको छ।