लाल बिहारी यादब, सिरहादर्पन
लहान, साउन १५ —
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले सुनसरी तथा सिरहाको लहान, गोलबजारलगायत विभिन्न स्थानमा पछिल्ला दिनहरूमा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
हिजो बिहीबार बार जारी गरेको वक्तव्यमा नगर प्रमुख चौधरीले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले आफ्ना आफन्त गुमाएका परिवारको पीडा अत्यन्त मर्माहत बनाउने खालको रहेको उल्लेख गर्दै पीडित परिवारलाई सरकारले यथाशीघ्र न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
नगर प्रमुख चौधरीले यस्ता हिंसात्मक तथा दुःखद घटना आगामी दिनमा पुनः दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न पनि उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत राखेका वक्तव्यमा उनले समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा आम नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन्।
"शान्ति, सद्भाव र न्याय नै आजको आवश्यकता हो," भन्दै नगर प्रमुख चौधरीले सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।















