लाल विहारी यादव, सिरहादर्पन।
लहान, २६ साउन २०८३।
आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सिरहाको सखुवाननकारकट्टी गाउँपालिकामा राजनीतिक गतिविधि बढ्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्ने पहिलो नेताका रूपमा वडा नं.४ सखुवाका स्थायी बासिन्दा तथा हाल एनएमबी बैंकमा उच्च ओहदामा कार्यरत पिन्टु यादव अगाडि आएका छन्।उनले पार्टीबाट टिकट पाए निर्वाचन जित्ने दाबीसमेत गरेका छन्।
सिरहादर्पणसँगको विस्तृत कुराकानीमा यादवले आफ्नो उम्मेदवारी कुनै आवेगको निर्णय नभई पालिकाको वर्तमान अवस्था,जनताको अपेक्षा र आफूले वर्षौंदेखि कमाएको सामाजिक सम्बन्धको आधारमा अघि सारेको बताए।
पालिका स्तरको निर्वाचन जित्न जनतासँगको सम्बन्ध, विकासको स्पष्ट दृष्टिकोण, जनआकांक्षाको पहिचान र त्यसलाई पूरा गर्ने योजना आवश्यक पर्ने भन्दै गरिएको प्रश्नमा यादवले बैंकिङ क्षेत्रमा लामो समय काम गर्दा पालिकाभरका सामाजिक अगुवा, बुद्धिजीवी, व्यवसायी तथा विशेष प्रयोजनका लागि बैंक पुग्ने सयौं सेवाग्राहीसँग आत्मीय सम्बन्ध स्थापित भएको बताए।
“सेवाग्राहीलाई सधैं सम्मानपूर्वक र मैत्रीपूर्ण व्यवहार गर्दै सेवा दिएको छु। यही कारण पालिकावासीसँग मेरो परिचय मात्र होइन, विश्वास र आत्मीय सम्बन्ध पनि बनेको छ। यही मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने। साथै यादबले वर्तमान गाउँपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै जनताको अपेक्षाअनुसार विकास हुन नसकेको आरोप लगाए। उनका अनुसार टुक्रे सडक र अल्पकालीन प्रभाव पर्ने कार्यक्रमबाहेक दीर्घकालीन विकासका काम हुन सकेको छैन्।
उनले शिक्षा क्षेत्रलाई उदाहरण दिँदै जनता माध्यमिक विद्यालय मौवाहीमा वर्षौंदेखि कार्यरत दर्जनौं शिक्षकले पारिश्रमिक नपाएको, सीमित घण्टी मात्र पढाइ हुने गरेको, विद्यार्थी र शिक्षकबीच तनाव बढेको तथा शिक्षकहरू असुरक्षाबीच काम गर्न बाध्य भएको दाबी गर्दै उनले शिक्षा क्षेत्रमा लगानी बढे पनि गुणस्तरीय सुधार हुन नसकेको बताए।
कृषि क्षेत्रको अवस्था पनि सन्तोषजनक नरहेको उनको भनाइ छ। किसानले आवश्यक कृषि सडक नपाएको, विकास योजना आवश्यकता र प्राथमिकताका आधारमा नभई पहुँचका आधारमा सञ्चालन भएको आरोप लगाउँदै उनले “विकासको नाममा तमासा भइरहेको कुरा पालिकावासी सबैले महसुस गरेका छन्,” भने।
यादवका अनुसार यिनै समस्याको समाधानका लागि आफूले समय अगावै उम्मेदवारी घोषणा गरेका हुन्। “यी र यावत समस्या समाधान गर्न अब सखुवाननकारकट्टी गाउँपालिकामा नयाँ नेतृत्व आवश्यक छ। त्यसका लागि म तयार छु,” उनले भने।
रास्वपाबाट टिकट पाउने सम्भावनाबारे यादवले पार्टीले नयाँ र सक्षम अनुहारलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे। आफू राजनीतिक रूपमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, पहिलो पटक रास्वपाबाट औपचारिक राजनीति सुरु गरेको र जनता माझ जित्न सक्ने आधार बनाएको दाबी गर्दै उनले भने, “ग्यारेन्टी त कसैले गर्न सक्दैन, तर मलाई पूर्ण विश्वास छ।”
यद्यपि रास्वपाभित्र अध्यक्ष पदको टिकटका लागि पिन्टु यादव मात्र होइन, अन्य नेताहरू पनि आकांक्षी रहेका छन्।
सखुवाननकारकट्टी गाउँपालिका रास्वपाका अध्यक्ष योगेन्द्र (लटु) झा ले सिरहादर्पणसँग कुरा गर्दै हाल रमेश गोइत, प्रवीण यादव र उमेश यादवको नाममा समेत छलफल भइरहेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा रमेश गोइत वा प्रवीण यादवले टिकट पाउने सम्भावना केही बढी देखिन्छ ।
त्यसैगरी, वडा नं. ५ का रास्वपा प्रतिनिधि उमेश यादव, जो गत २०८२ फागुन २१ गते सम्पन्न संघीय संसद निर्वाचनमा पार्टीका पक्षमा अधिक सक्रिय रहेका थिए। उनले पिन्टु यादव र रमेश गोइत दुवै सक्षम उम्मेदवार रहेको बताए। पार्टीले जसलाई उम्मेदवार बनाए पनि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर चुनावमा होमिने उनको भनाइ छ।
अन्तिम निर्णय भएको छैन।
यस विषयमा राजनीतिक क्षेत्रका अनुभवी नेता विष्णु गुप्ता वानियाँले भने अध्यक्षको टिकट बारे हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारे। पार्टीको औपचारिक प्रक्रिया पूरा नभएसम्म कसैको नाम निश्चित भन्न नमिल्ने उनको भनाइ छ।
स्थानीय तह निर्वाचन हुन अझै समय बाँकी रहे पनि सखुवाननकारकट्टी गाउँपालिकामा रास्वपाको अध्यक्ष पदका आकांक्षीहरू खुल्न थालेसँगै टिकट वितरणको विषय स्थानीय राजनीतिक वृत्तमा चर्चा र चासोको केन्द्र बनेको छ। अब पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णयले आगामी चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।














