लाल बिहारी यादव, सिरहादर्पण
लहान, सिरहा । २९ साउन २०८३
दुईपटक लुटपाट र तोडफोडको निशाना बनेर करोडौँ रुपैयाँ बराबरको क्षति व्यहोरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लहान मुख्य शाखाले संकटका बाबजुद सेवा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
साविक खाद्य संस्थानका रूपमा रहेको लहान शाखाले २०६२/०६३ को जनआन्दोलनका क्रममा पहिलोपटक लुटपाटको सामना गरेको थियो। पछिल्लो पटक २०८२ भदौ २३ र २४ गते भएको जेन–जी (Gen Z) आन्दोलनका क्रममा कार्यालय तथा गोदाममा लुटपाट र तोडफोड हुँदा खाद्यान्न, विद्युतीय सामग्री, कार्यालयका महत्वपूर्ण कागजात तथा अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको शाखाले जनाएको छ।
शाखा प्रमुख निरञ्जन नेपालका अनुसार पछिल्लो घटनामा मात्रै करिब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको थियो। ठूलो क्षति भएपछि कार्यालय नै बन्द हुने अवस्था सिर्जना भए पनि स्थानीय तह, प्रशासन, निर्माण आयोजना, कर्मचारी, किसान तथा उपभोक्ताको सहयोगमा कार्यालय पुनः सञ्चालनमा ल्याइएको उनले बताए।
लहान मुख्य शाखाको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शाखा प्रमुख नेपालले खाद्य सुरक्षा, बजार नियन्त्रण र किसानको हित संरक्षणमा शाखाले आफ्नो भूमिका निरन्तर निर्वाह गर्दै आएको बताए।
“निर्मम प्रहार सहनुपरे पनि आम किसान तथा उपभोक्ताको विश्वासले हामीलाई पुनः उभिन प्रेरणा दिएको छ। तराईको अन्न भण्डार क्षेत्रमा रहेर सेवा गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो,” उनले भने।
शाखाले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान खरिद गर्दै आएको जनाएको छ। यसबाट बिचौलियाको शोषणबाट किसानलाई जोगाउन सहयोग पुगेको शाखा प्रमुख नेपालको भनाइ छ।
गत आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको स्वीकार गर्दै उनले चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा धान खरिद गरी किसानलाई समयमै भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे।
खाद्य संकट, महामारी तथा अन्य विपद्का समयमा समेत खाद्यान्न आपूर्ति व्यवस्था सहज बनाउन कम्पनी तयार रहेको उनले बताए। लहान शाखामा राष्ट्रिय खाद्य सुरक्षा भण्डार तथा सार्क खाद्य बैंकसम्बन्धी जिम्मेवारीअनुसार १ हजार ५ सय मेट्रिक टन चामल बफर स्टकका रूपमा राखिएको जानकारी उनले दिए।
चाडपर्व तथा संकटका समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन कम्पनीले सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको पनि उनले बताए।
विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा विभिन्न आठ प्रकारका सूक्ष्म पोषक तत्व मिसाइएको फोर्टिफाइड चामलको व्यवस्थापन हुँदै आएको शाखा प्रमुख नेपालले जानकारी दिए।
बालबालिकालाई कुपोषणबाट जोगाउन फोर्टिफाइड चामलको प्रयोग बढाउन आग्रह गर्दै उनले विद्यालयको दिवा खाजा कार्यक्रममा समेत यसको प्रयोग गर्न सके बालबालिकाको स्वास्थ्य र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्न सक्ने बताए। यसका लागि स्थानीय सरकार र विद्यालयसँग सहकार्य गर्न कम्पनी इच्छुक रहेको उनको भनाइ छ।
जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने लहान नगरपालिका, जिल्ला प्रशासन कार्यालय सिरहा तथा सघन सहरी तथा भवन निर्माण आयोजना, डिभिजन कार्यालय सप्तरीप्रति शाखा प्रमुख नेपालले आभार व्यक्त गरे।
लहान नगरपालिकाले कार्यालयका लागि आवश्यक टेबल, कुर्सी, कम्प्युटर तथा प्रिन्टर उपलब्ध गराउनुका साथै कार्यालय परिसर र गोदाम सरसफाइमा सहयोग गरेको उनले बताए।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा कायम गर्न तथा सरकारी सम्पत्तिको संरक्षणमा सहयोग गरेको भन्दै उनले धन्यवाद दिए।
सघन सहरी तथा भवन निर्माण आयोजना, डिभिजन कार्यालय सप्तरीको प्राविधिक सहयोग तथा कर्मचारीको निरन्तर मेहनतका कारण क्षतिग्रस्त कार्यालय भवन पुनर्निर्माण गरी छोटो समयमै सेवा सञ्चालन गर्न सकिएको उनले बताए।
“यो सफलता कुनै एक व्यक्तिको प्रयासले सम्भव भएको होइन। यसका पछाडि किसानको पसिना, उपभोक्ताको विश्वास र कर्मचारीको अथक मेहनत जोडिएको छ,” नेपालले भने।
चारतले व्यावसायिक भवन निर्माणको योजना
लहान शाखाले आगामी दिनमा भण्डारण क्षमता विस्तारसँगै कार्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ।
गोदामको स्तरोन्नति गरी वैज्ञानिक भण्डारण प्रणाली लागू गर्ने, खाद्यान्न बिग्रिने तथा कुहिने समस्या न्यूनीकरण गर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजना रहेको शाखा प्रमुख नेपालले बताए।
करिब चार बिघा क्षेत्रफलमा रहेको कार्यालय परिसरमा बेसमेन्ट पार्किङसहित चारतले व्यावसायिक भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा प्रधान कार्यालयसँग छलफल अघि बढेको उनले जानकारी दिए।
कार्यालय परिसरको जग्गालाई व्यवस्थित रूपमा उपयोग गर्न निजी क्षेत्र तथा स्थानीय सरोकारवालासँग सहकार्य गर्ने योजना पनि शाखाले अघि सारेको छ।
त्यसैगरी किसान तथा सेवाग्राहीलाई बिना झन्झट छिटोछरितो सेवा उपलब्ध गराउने, सुशासन कायम गर्ने र खाद्य वस्तुको बजार मूल्य नियन्त्रणका लागि स्थानीय प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता शाखाले जनाएको छ।
सातौँ वार्षिकोत्सव कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथि तथा सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सिरहा, सप्तरीलगायत विभिन्न जिल्लाका सरकारी निकाय, संघसंस्था तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
वार्षिकोत्सवमा विगतका उपलब्धि र चुनौतीको समीक्षा गर्दै शाखाले आगामी दिनमा किसानको हित, खाद्य सुरक्षा, उपभोक्ता सेवा, बजार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।














