लाल बिहारी यादब,सिरहादर्पन-लहान।
३१ साउन २०८३
लहानमा स्थापना गर्ने भनिएको ट्रमा सेन्टर धनुषाको ढल्केबरमा सारिने सम्भावना बढेपछि सिरहाको लहानमा यसको विरोध सुरु भएको छ। ट्रमा सेन्टर लहानमै स्थापना हुने वा धनुषाको ढल्केबरमा सारिने भन्ने विषय अहिले स्थानीयस्तरमा चासो र बहसको विषय बनेको छ।
सिरहा निर्वाचन क्षेत्र नं. १ का सांसद बब्लु गुप्ताको पहलमा लहानमा ट्रमा सेन्टर स्थापना हुने भन्दै केही दिनअघि सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू सार्वजनिक भएका थिए। त्यसपछि स्थानीयवासीले सांसद गुप्तालाई बधाई तथा शुभकामना दिएका थिए। लहानमा ट्रमा सेन्टर स्थापना हुने खबरले यस क्षेत्रका नागरिकसमेत उत्साहित बनेका थिए।
तर पछिल्लो समय ट्रमा सेन्टर लहानमा नभई धनुषाको ढल्केबरमा स्थापना गर्ने तयारी भइरहेको चर्चा चलेपछि स्थानीयवासी असन्तुष्ट बनेका छन्। निर्णय परिवर्तन गरिए लगतै त्यसको विरोधमा लहानमा आन्दोलनसमेत सुरु भएको छ।
लहानमा ट्रमा सेन्टर स्थापना गर्ने विषय संघीय सरकारको निर्णय र त्यसको कार्यान्वयनसँग जोडिएको भन्दै स्थानीयले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले निर्णय गरिसकेपछि स्थान परिवर्तन गर्नु उचित नहुने बताएका छन्।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले हिजो शनिबार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालको अनुगमन गरेकी छन्। अनुगमनका क्रममा सञ्चारकर्मीहरूले लहानमा ट्रमा सेन्टर स्थापना हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दा मन्त्री मेहताले ‘टाइम लाग्छ’ भन्दै तत्काल ट्रमा युनिट बन्ने प्रतिक्रिया दिइन्।
मन्त्रीको उक्त प्रतिक्रियाले लहानमा पूर्ण ट्रमा सेन्टर स्थापना हुने वा नहुने विषय भने स्पष्ट हुन सकेन। स्थानीयले मन्त्रीको जवाफलाई अस्पष्ट र गोलमटोल भएको टिप्पणी गरेका छन्।
अनुगमनका क्रममा मन्त्री मेहतासँगै रहेका सांसद बब्लु गुप्ता, अस्पतालका अध्यक्ष रामनारायण महतो र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) वर्षा प्रकाशले लहानमै ट्रमा सेन्टर सञ्चालनका लागि पर्याप्त पूर्वाधार रहेको जानकारी गराउँदै अस्पतालका विभिन्न युनिट तथा उपलब्ध जग्गा देखाएका थिए।
मन्त्री मेहताले अनुगमनका क्रममा सगरमाथा चौधरी आँखा अस्पताल तथा प्रादेशिक अस्पतालको पूर्वतर्फ रहेको नेपाल रेडक्रस सोसाइटी लहान शाखाको क्षेत्रसमेत निरीक्षण गरेकी छन्।
लहानमा ट्रमा सेन्टर स्थापना हुने विषय सांसद बब्लु गुप्ताको पहल र राजनीतिक प्रतिष्ठासँग जोडिएको छ भने निर्णय कार्यान्वयन तथा स्थान परिवर्तनको विषय स्वास्थ्यमन्त्री निशा मेहताका लागि समेत चुनौती बनेको छ। अब सरकारले लहानमै ट्रमा सेन्टर स्थापना गर्ने आफ्नो निर्णय कार्यान्वयन गर्छ वा ढल्केबरमा सार्ने निर्णय गर्छ भन्ने विषयको प्रतीक्षा स्थानीयवासीले गरिरहेका छन्।















