लाल बिहारी यादब, सिरहादर्पन।
लहान । सिरहा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद बब्लु गुप्ताले लहानको स्वास्थ्य सेवामा सुधार, आवश्यक पूर्वाधारको विकास तथा स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय उपचारको सुनिश्चितता आफ्नो निरन्तर प्राथमिकता रहेको बताएका छन्।
सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँगै लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, सगरमाथा चौधरी आँखा अस्पताल तथा महेन्द्र ज्ञानी प्रसूति गृहको स्थलगत अवलोकन गरेको जानकारी दिएका हुन्।
लहानको स्वास्थ्य क्षेत्रको आवश्यकता, सम्भावना र चुनौतीलाई नजिकबाट बुझ्ने उद्देश्यले स्वास्थ्य संस्थाहरूको अवलोकन गरिएको उनले बताएका छन्।
प्रादेशिक अस्पतालको अनुगमनका क्रममा सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै प्रस्तावित ट्रमा सेन्टर स्थापनाका लागि पहिचान गरिएको स्थलको समेत अवलोकन गरिएको सांसद गुप्ताले उल्लेख गरेका छन्।
पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनामा घाइते हुने नागरिकलाई समयमै उपचार उपलब्ध गराउन लहानमा व्यवस्थित ट्रमा सेवा अत्यन्त आवश्यक रहेको उनको भनाइ छ।
अवलोकनका क्रममा स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारी तथा सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष छलफल गरी लहानका नागरिकले भोगिरहेका स्वास्थ्यसम्बन्धी आवश्यकता तथा समस्याबारे जानकारी लिएको सांसद गुप्ताले बताएका छन्।
उनले लहानको स्वास्थ्य सेवामा सुधारसँगै आवश्यक पूर्वाधारको विकास गरी नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसद गुप्ताको यो अभिव्यक्ति लहानमा प्रस्तावित ट्रमा सेन्टरको स्थान र स्थापनाबारे बहस चलिरहेका बेला सार्वजनिक भएको हो। उनले ट्रमा सेन्टरलाई लहानको स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकता भएको स्पष्ट संकेत गरेका छन्।















