लहान । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार लहान–१६ स्थित श्री माध्यमिक विद्यालय तरेगनाको छड्के अनुगमन गरेका छन्। २०८३ भदौ २५ गते करिब बिहान ११ बजे विद्यालय पुगेका नगरप्रमुख चौधरीले विद्यालयका विभिन्न शैक्षिक तथा शैक्षणिक गतिविधिबारे प्रधानाध्यापक कृष्णदेव महतोसँग जानकारी लिएका हुन्।

अत्यधिक गर्मीका कारण आधारभूत तहका स–साना बालबालिकालाई विद्यालय परिसरमा रहेका रूखमुनि तथा चौतारामा उचित व्यवस्थापनसहित अध्यापन गराइएको पाइएको थियो। विद्यालयका शिक्षिकाहरूले सरकारले तोकेको विद्यालय पोसाकमा बालमैत्री विधि प्रयोग गरी पठनपाठन गराइरहेको नगरप्रमुख चौधरीले अवलोकन गरेका थिए। सात जना स्थायी दरबन्दीका शिक्षक, एक जना अस्थायी प्रकृतिका शिक्षक तथा तीन जना स्वयंसेवक शिक्षकको भरमा सञ्चालन भइरहेको विद्यालयको पठनपाठन तथा शैक्षिक र शैक्षणिक गतिविधि उत्कृष्ट रहेको नगरप्रमुख चौधरीले सिरहादर्पणलाई बताए।

अनुगमनका क्रममा नगरप्रमुख चौधरीले स्थानीय सरकारका तर्फबाट विद्यालयलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले विद्यालयले लगातार पहिलो र दोस्रो पटक क्रमशः २०८१ र २०८२ सालको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउनुका साथै स्थानीय सरकारको समेत मन जितेको बताए। विद्यालयको आवश्यकताअनुसार शिक्षक व्यवस्थापनलगायत सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नगरप्रमुख चौधरीले प्रधानाध्यापक महतोलाई तत्काल कुन विषयको शिक्षक आवश्यक छ भन्ने जिज्ञासा राख्दा महतोले सामाजिक अध्ययन र जनसंख्या शिक्षा विषयका शिक्षक अत्यन्त आवश्यक रहेको बताए।

प्रधानाध्यापक महतोले लहान नगरपालिकाले विद्यालय भवन निर्माणसँगै भौतिक सहयोग तथा विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएर विद्यालय र विद्यालयको पकेट क्षेत्रका अभिभावकको आर्थिक भारसमेत घटाएको भन्दै नगरप्रमुख चौधरीको प्रशंसा गरे। नगरपालिकाको यस्तो सहयोगले नागरिकलाई स्थानीय सरकार आफ्नै सरकार भएको अनुभूति गराएको उनले बताए।

लाल विहारी यादव, सिरहादर्पण, लहान