लाल बिहारी यादव, सिरहादर्पण
लहान, शुक्रबार, २६भदौ २०८३।
नगर प्रमुखको मुख्य जिम्मेवारी नगरवासीको हित र नगरको समग्र विकास गर्नु हो। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक, यातायातलगायत आधारभूत सेवाको प्रभावकारी व्यवस्था गर्नुका साथै विकास निर्माणको अनुगमन, जनताको गुनासो सम्बोधन, सुशासन कायम र सबै नगरवासीलाई समान तथा सहज सेवा उपलब्ध गराउनु नगर प्रमुखको दायित्व हो। लहान नगरपालिकामा यस्ता काम निरन्तर भइरहेको देखिन्छ।
लहानका समस्यामा परेका नागरिकका लागि अहिले ‘जहाँ समस्या, त्यहाँ महेश चौधरी’ भन्ने अनुभूति हुन थालेको छ। गरिब तथा असहाय नागरिक, दुर्घटना वा मृत्युबाट पीडित परिवार, दैवी प्रकोपमा परेका नागरिक, अस्पतालमा उपचाररत विपन्न परिवार, आँखाको ज्योति गुमाएका तथा विभिन्न आँखाका रोगबाट पीडित हजारौँ नागरिकलगायत अन्य रोगका बिरामीको समस्या समाधानमा नगर प्रमुख महेश प्रसाद चौधरी सक्रिय देखिन्छन्।
आर्थिक अभावमा रहेका नागरिकलाई खाद्यान्न तथा सहयोग उपलब्ध गराउने, आर्थिक संकटमा परेकालाई सहयोग गर्ने र बेघर भएका परिवारलाई टिनको छानासहित घर निर्माणमा समेत सकेको सहयोग गर्ने उनको प्रयास रहँदै आएको छ। कतिपय अवस्थामा पीडितको आवाससम्मै पुगेर सहयोग गर्ने गरेका चौधरी नागरिकको समस्या समाधानका लागि आफूलाई निरन्तर सक्रिय राख्ने नगर प्रमुखका रूपमा देखिएका छन्।
नागरिकको समस्या समाधानका क्रममा आफूलाई सहयोग गर्ने प्रहरी, पत्रकार तथा अन्य सहयोगी हातहरूलाई समेत आवश्यक पर्दा आर्थिक जोखिम मोलेर खाजा तथा भोजनको व्यवस्था गर्नेसम्मका प्रयासमा उनी रहने गरेका छन्। नागरिक सेवामा लाग्दा आफ्नो भोक र भोजनसमेत बिर्सने अवस्था आउने गरेको उनका गतिविधिले देखाउँछ।
यो धारणा सबै पाठकलाई स्वीकार्य हुन्छ नै भन्ने छैन। नगर प्रमुख चौधरीप्रति राजनीतिक रिस, डाह वा पूर्वाग्रह राख्नेहरू, उनले गरेका विकास कार्यबाट असन्तुष्ट हुनेहरू तथा आफ्ना स्वार्थ पूरा हुन नसकेका व्यक्तिहरूका लागि यस्तो चित्रण अपच हुन सक्ने सम्भावना पनि छ। त्यस्ता व्यक्तिले सामाजिक सञ्जाल वा कमेन्टमा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने निश्चित छैन। तर जनसेवाको मूल्यांकन गर्ने जिम्मेवारी अन्ततः नागरिककै हो।
जनसेवामा निरन्तर सक्रिय रहँदा नगर प्रमुख चौधरीले पारिवारिक मोहसमेत करिब–करिब बिर्सिएको अवस्था देखिन्छ। प्रेमको आँधीअगाडि हार खान विवश भई प्रेम सम्बन्धमा बाँधिएकी उनकी प्रेमिका स्वर्गीय संगीता कर्माचार्यको विगतलाई सम्झँदै बेलाबखत भावुक बन्ने र आफूलाई नियन्त्रण गर्नुबाहेक आफ्नो अधिकांश समय राज्य र नागरिक सेवामा समर्पित गर्नु उनको जीवनको असाधारण पक्षका रूपमा लिन सकिन्छ।
त्यसैले कसैलाई जे लागे पनि, साधारण नागरिकको नजरमा महेश प्रसाद चौधरी ‘ब्रान्ड मेयर’ बन्न पुगेका छन्।
यसको पछिल्लो उदाहरण बिहीबार, २५ भदौमा लहान नगरपालिका–१६ को विकट क्षेत्र तरेगनास्थित गाइघाटमा देखिएको छ। उक्त क्षेत्रमा भाइरल ज्वरोका कारण वडाका विभिन्न बस्तीका धेरै स्थानीयवासी बिरामी परेको जानकारी पाएलगत्तै नगर प्रमुख चौधरीले तत्काल पहल गर्दै वडामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन्।
ज्वरोसहित बिरामीको संख्या बढ्दै गएको जानकारी पाएपछि चौधरीले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तत्काल वडामै पठाएर स्थानीयवासीको स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराएका हुन्। बिरामीलाई घरबाट टाढा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले वडामै शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
शिविरमा बिरामीको स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि वितरण र ल्याब परीक्षणको समेत व्यवस्था गरिएको छ। नगर प्रमुख चौधरीले आफ्नो स्वास्थ्यप्रति लापरबाही नगर्न आग्रह गर्दै स्वास्थ्यमा समस्या देखिएका सबै वडावासीलाई शिविरमा आएर स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्।
वडामै स्वास्थ्य परीक्षण, औषधि र ल्याब परीक्षणको सेवा उपलब्ध भएपछि स्थानीयवासीलाई सहज भएको छ। दुर्गम बस्तीमै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनुले स्थानीय नागरिकले राहत महसुस गरेका छन्।















