लहान, ५ असोज ।
लाल बिहारी यादब - सिरहादर्पन।

लहान नगरपालिकामा ठूला तथा दीर्घकालीन पूर्वाधार विकासका योजनाले गति लिन थालेका छन्। नगरपालिकाले असोज १ गते दुई ठूला विकास योजनाको ठेक्का सम्झौता गरेपछि असोज ५ गते नै दुवै योजनाको शिलान्यास गरिएको छ। निर्माण व्यवसायीले दुवै योजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने दाबी गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताएका छन्।

लहान नगरपालिका वडा नं. १६ स्थित फरेष्ट चेकपोस्टदेखि तरेगनासम्म कालोपत्रे सडक निर्माणका लागि दैव चुब्लु आयुष्मा जेभी, धनगढीमाई–५, सिरहासँग रु. ३ करोड २ लाख ६२ हजार ४ सय ३५ रुपैयाँमा सम्झौता भएको छ। सम्झौताअनुसार उक्त सडक निर्माण २०८४ असोज १ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।

त्यसैगरी, लहान नगरपालिका वडा नं. ४ मा पर्ने गोधूलि होटलदेखि उत्तर कैलाश महतोको घरसम्म पक्की नाला तथा कालोपत्रे सडक निर्माणका लागि पनि सोही निर्माण व्यवसायीसँग सम्झौता भएको छ। उक्त योजनाको भ्याट र पीएससहितको सम्झौता रकम रु. २ करोड ७२ लाख ४ हजार ८ सय २९ रुपैयाँ ३० पैसा रहेको छ।

साउनदेखि नै कम तथा मझौला लागतका विकास योजनाहरू सञ्चालनमा ल्याउँदै आएको नगरपालिकाले असोजको सुरुवातसँगै ठूलो लागत तथा दीर्घकालीन महत्वका योजनालाई समेत अघि बढाएको हो। सम्झौता भएको चार दिनमै दुवै योजनाको शिलान्यास भएपछि तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने अपेक्षा स्थानीयमा बढेको छ।

लहान नगरपालिकाको विकट क्षेत्र मानिने तरेगना जाने सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। शिलान्यासका क्रममा केही स्थानीयले नगरप्रमुख चौधरीप्रति “मेयर साहेब यस्तो हुनुपर्छ” भन्दै प्रशंसा गरेका थिए।

त्यस्तै, वडा नं. ४ स्थित गोधूलि होटलभन्दा उत्तरतर्फको पुरानो बस्तीमा पक्की नालासहित कालोपत्रे सडक बन्ने भएपछि स्थानीय पनि खुसी भएका छन्। सामान्य वर्षा हुँदा समेत सडकमा हिलो जमेर हिँडडुलमा समस्या हुने गरेको स्थानीयको भनाइ छ।

नगरप्रमुख चौधरीका अनुसार निर्माण कम्पनीले दुवै योजनाको काम अबको दुई महिनाभित्रै सम्पन्न गर्ने दाबी गरेको छ। योजनाहरू समयमै सम्पन्न भए तरेगना क्षेत्रको सडक पहुँच तथा वडा नं. ४ को पुरानो बस्तीको सडक र नाली व्यवस्थापनमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।